वि. सं. २०८० असार ३० गते शनिवार (सन् २०२३ जुलाई १५) का दिन ललितपुरको कुपण्डोलस्थित हिमालय होटलमा आयोजना गरिएको एक विशेष समारोहमा ‘नेपाल वाङ्मय फाउन्डेसन’ (Nepal Bangmaya Foundation) को समुद्घाटन गरिएको छ । देश–विदेशका उच्च पदस्थ व्यक्तित्वहरु तथा विभिन्न विधा र विषयका लब्धप्रतिष्ठित लेखक, साहित्यकार एवं प्राज्ञिक व्यक्तित्वहरुको गरिमामय उपस्थिति रहेको उक्त समारोहमा संयुक्त राष्ट्र सङ्घमा आबद्ध १९५ देशका राष्ट्रिय गानहरुको नेपाली अनुवादमा आधारित ‘विश्वका राष्ट्रिय गान’ (National Anthems of the World) पुस्तकको पनि लोकार्पण गरिएको छ ।
प्रमुख अतिथि नेपाल सरकारका माननीय परराष्ट्र मन्त्री श्री एन. पी. साउदले मङ्गल धुनका साथ पानसमा दीप प्रज्ज्वलन गरेर समारोहको समुद्घाटनका साथै इलेक्ट्रिक बटन थिचेर फाउन्डेसनको प्रतीक चिन्ह (लोगो) तथा अफिसियल वेभसाइट अनावरण गरी औपचारिक रुपमा नेपाल वाङ्मय फाउन्डेसनको सार्वजनिक यात्रा शुभारम्भ गर्नुभयो ।
‘विश्वका राष्ट्रिय गान’ पुस्तकको लोकार्पण प्रमुख अतिथि माननीय परराष्ट्र मन्त्रीज्यूसँगै विशिष्ट अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति, वरिष्ठ कवि तथा फाउन्डेसनका मानार्थ सदस्य श्री बैरागी काइँला, कार्यक्रमका सभापति पूर्व राज्यमन्त्री, शिक्षसेवी तथा फाउन्डेसनका प्रमुख संरक्षक श्री उमेश श्रेष्ठ, पूर्व अर्थमन्त्री तथा फाउन्डेसनका विशिष्ट सल्लाहकार श्री शंकरप्रसाद कोइराला, नेपाल सरकारका मुख्य सचिव डा. बैकुण्ठ अर्याल, पूर्व मुख्य सचिव डा. विमल कोइराला, भारतीय राजदूतावासका प्रथम सचिव श्री नवीन कुमार, नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति श्री भूपाल राई, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति श्री निशा शर्मा, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति श्री नारद हार्तम्छाली, नेपाल सरकारका पूर्व परराष्ट्र सचिव तथा संयुक्त राष्ट्र सङ्घका लागि नेपालका स्थायी प्रतिनिधि श्री मधुरमण आचार्य, नेपालस्थित संयुक्त राष्ट्र सङ्घका प्रतिनिधि श्री सुभाष नेपाली, डब्लु. एच. ओ. नेपालका प्रतिनिधि डा. विनोद बुरा तथा नेपाल वाङ्मय फाउन्डेसनका अध्यक्ष डा. विप्लव ढकालले संयुक्त रुपमा गर्नुभयो ।
नेपालको राष्ट्रिय गानबाट प्रारम्भ भएको उक्त कार्यक्रममा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलको शुभकामना सन्देश फाउन्डेसनका सल्लाहकार श्री धीरेन्द्र प्रेमर्षिद्वारा र नेपालस्थित संयुक्त राष्ट्र सङ्घका महामहिम आवासीय संयोजक हाना सिंगर–हाम्दीको शुभकामना सन्देश संयुक्त राष्ट्र सङ्घका प्रतिनिधि श्री सुभाष नेपालीद्वारा वाचन गरिएका थिए । उक्त सन्देशहरु भिडियो स्क्रिन मार्फत पनि प्रस्तुत गरिएका थिए ।
फाउन्डेसनका व्यवस्थापकीय सल्लाहकार श्री मुकुन्दराज शर्माद्वारा सञ्चालन गरिएको उक्त समारोहमा विशिष्ट सल्लाहकार श्री शंकरप्रसाद कोइरालाद्वारा स्वागत मन्तव्य, अध्यक्ष डा. विप्लव ढकालद्वारा संस्थागत मन्तव्य, प्रमुख वक्ता श्री मधुरमण आचार्यद्वारा पुस्तकबारे समीक्षात्मक मन्तव्य, मानार्थ सदस्य श्री बैरागी काइँलाद्वारा शुभकामना मन्तव्य तथा सभापति श्री उमेश श्रेष्ठद्वारा धन्यवादज्ञापन तथा समापन मन्तव्य प्रस्तुत गरिएको थियो ।
उक्त समारोहमा प्रमुख अतिथि माननीय परराष्ट्र मन्त्री श्री एन. पी. साउद तथा प्रमुख वक्ता मधुरमण आचार्यलाई सभापति श्री उमेश श्रेष्ठद्वारा मायाको चिनो हस्तान्तरण गरिएको थियो । त्यसै गरी माननीय परराष्ट्र मन्त्रीज्यूद्वारा संयुक्त राष्ट्र सङ्घका महामहिम आवासीय संयोजक हाना सिंगर–हाम्दी (मार्फत सुभाष नेपाली), फाउन्डेसनका संरक्षक तथा सौजन्यकर्ताहरु श्री उमेश श्रेष्ठ र तेन्जी शेर्पा, नेपालको राष्ट्रिय गानका रचनाकार श्री व्याकुल माइला तथा ‘विश्वका राष्ट्रिय गान’ पुस्तकका मूल अनुवादक श्री प्रदीप निरौलालाई विशेष सम्मान–पत्र हस्तान्तरण गरिएको थियो ।
निकै भव्य र व्यवस्थित रुपमा सम्पन्न गरिएको उक्त कार्यक्रममा नेपाल सरकारका माननीय परराष्ट्र मन्त्री तथा पूर्व मन्त्रीहरु, नेपाल सरकारका वर्तमान तथा पूर्व मुख्य सचिवहरु, नेपाल प्रज्ञा–प्रतिष्ठानका वर्तमान तथा पूर्वकुलपति, सदस्य सचिव तथा प्राज्ञ सदस्यहरु, नेपाल सङ्गीत तथा नाट्प प्रज्ञा–प्रतिष्ठानका कुलपति, सदस्य सचिव तथा प्राज्ञ सदस्यहरु, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति तथा प्राज्ञ सदस्यहरु, सुदूर पश्चिमाञ्चल विश्वविद्यालयका पूर्व उपकुलपति, त्रिभुवन विश्वविद्यालयका विभिन्न विभागका वर्तमान तथा पूर्व प्रमुखहरु, विभिन्न विश्वविद्यालयका प्राध्यापकहरु, पूर्व न्यायाधीशहरु, पूर्व परराष्ट्र सचिव तथा संयुक्त राष्ट्र सङ्घका लागि नेपालका स्थायी प्रतिनिधि, वर्तमान तथा पूर्व सांसदहरु, विभिन्न मन्त्रालयका वर्तमान तथा पूर्व सचिव तथा उच्च पदस्थ व्यक्तित्वहरु, स्थानीय सरकार र पालिकाका प्रतिनिधिहरु, नेपालको राष्ट्रिय गानका रचनाकार, नेपाल वाङ्मय फाउन्डेसनका संरक्षक, मानार्थ सदस्य, विषयविज्ञ सल्लाहकारहरु, विशिष्ट सदस्यहरु, आजीवन सदस्य तथा कार्यसमितिका सदस्यहरु, विभिन्न मिडियाका सञ्चारकर्मीहरु, विभिन्न सामाजिक, सांस्कृतिक एवं साहित्यिक सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु, प्रतिष्ठित बौद्ध भिक्षुहरु, ख्यातिप्राप्त लेखक, साहित्यकार तथा कलाकारहरु, उद्योगी, व्यवसायी, शिक्षक, पत्रकार, वकिल, पेशाकर्मी आदिको गरिमामय उपस्थिति रहेको थियो ।