नेपाल वाङ्मय फाउन्डेसन (Nepal Bangmaya Foundation) नेपालको कम्पनी ऐन २०६३ अन्तर्गत वि. सं. २०७९ वैशाख १५ (सन् २०२२ अप्रिल २८) मा विधिवत रुपमा दर्ता भएको विशुद्ध सेवामूलक एवं ‘मुनाफा वितरण नगर्ने’ कम्पनी हो । नेपालको बहुभाषिक वाङ्मयको समावेशी अनुसन्धान, विविध ज्ञानपरम्परा एवं बौद्धिक सम्पदाको संरक्षण र सर्वाङ्गीण श्रीवृद्धिका लागि उपयुक्त कार्यक्रमको तर्जुमा गरी राष्ट्रको प्राज्ञिक गतिविधिमा रचनात्मक योगदान गर्ने उद्देश्यले यस फाउन्डेसनको स्थापना भएको हो । यसले सामाजिक सेवा तथा मानव कल्याणसम्बन्धी कार्यक्रमहरु पनि गर्ने लक्ष्य लिएको छ ।
यस फाउन्डेसनले प्रारम्भिक कार्ययोजनाअनुरुप संयुक्त राष्ट्र सङ्घमा आबद्ध १९५ देशका राष्ट्रिय गानहरुको नेपाली अनुवादमा आधारित ‘विश्वका राष्ट्रिय गान’ (National Anthems of the World) पुस्तकको लोकार्पणसँगै वि. सं. २०८० असार ३० (सन् २०२३ जुलाई १५) देखि औपचारिक रुपमा आफ्नो सार्वजनिक यात्रा प्रारम्भ गरेको छ ।
नेपाल सरकारका माननीय परराष्ट्र मन्त्री श्री एन. पी. साउदज्यूले एक विशेष समारोहका बीच यस फाउन्डेसनको समुद्घाटन गर्नुभएको हो । नेपाल सरकारका उच्च पदस्थ व्यक्तित्वहरु, विविध विधा र विषयका प्राज्ञिक व्यक्तित्वहरु तथा नेपालस्थित संयुक्त राष्ट्र सङ्घ र विभिन्न राजदूतावासका उच्च प्रतिनिधिहरुको गरिमामय उपस्थितिमा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू, नेपालस्थित संयुक्त राष्ट्र सङ्घका महामहिम आवासीय संयोजक हाना सिंगर–हाम्दीज्यू तथा अन्य विशिष्ट व्यक्तित्वहरुका शुभकामना सन्देशसहित यस फाउन्डेसनलाई सार्वजनिक गरिएको छ ।
‘सबैको हृदय जोड्ने पुल बनाऔँ !’ यो हाम्रो निर्देशक विचार हो ।
हामी बहुभाषिकता र समावेशितामा आधारित अध्ययन–अनुसन्धानलाई अघि बढाउन चाहन्छौँ । बहुभाषिकता हाम्रो अखण्ड राष्ट्रियता तथा सभ्यताको मौलिक सौन्दर्य भएकाले नेपालभित्र बोलिने सबै मातृभाषाको वाङ्मय समग्रमा नेपाली वाङ्मय हो । नेपालका कुनाकन्दरामा छरिएर रहेका सबै जातजाति र मातृभाषाहरुको वाङ्मय हामी सबैको साझा सम्पदा र साझा पहिचान भएकाले विविधताको शक्ति र सौन्दर्यलाई सबैले मिलेर समयमै जगेर्ना गर्नु जरुरी छ । ज्ञानपरम्पराको इतिहास लोप भयो भने सभ्यताको बत्ती निभ्छ । हामी नेपालको प्रचलित ऐन–कानुनको अधीनमा रही सम्बन्धित निकायसँग समन्वय कायम गर्दै आफ्नो योग्यता र क्षमताले भ्याएसम्म त्यो बत्तीलाई जोगाउने प्रयत्न गर्ने छौँ ।